मिसन ग्रासरुट किन?

Fashion

पार्टीलाई एकताबद्ध, सुदृढ र व्यापक जनआधारित बनाउने : यसको अर्थ हो, पार्टीलाई वैचारिक रुपले सुस्पष्ट, संगठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रुपले एकतावद्ध र जनतासंगको आवद्धता घनिष्ट बनाउने । पार्टीमा शुद्धिकरण र पार्टीको सुदृढिकरण अभियान सञ्चालन गर्ने । यसको अर्थ हो, गुटबन्दी, भ्रष्टता र साँस्कृतिक विचलन बिरुद्ध अभियान सञ्चालन गर्ने । पुरानाको सदस्यता नबिकरण गर्ने र गुणस्तर बृद्धि गर्ने । नयाँ जनसमुदाय बीच पार्टी सदस्यता विस्तार गर्ने । पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने । गएको चुनावमा हामीले हामीले मिसन वान–फिप्टी भन्यौं । परिणाममा हाम्रो पार्टी जनताको रोजाईमा ४४ जिल्लामा पहिलो, २४ जिल्लामा दोस्रो, ८ जिल्लामा तेस्रो र १ जिल्ला (सप्तरी) मा चौथो पार्टी बन्यो । निर्वाचनको समयमा हामीले ‘५–२ को नीति‘ (५ मतको रक्षा र २ मत बृद्धि) अपनायौं । र, प्रतिशितमा स्थानीय तहको लोकप्रीय मतमा ६ प्रतिशत बृद्धि गर्ने लक्ष्य राख्यौं ।

२०७५ साल जेठ ३ गते । हाम्रो पार्टी जीवनको महत्वपूर्ण दिन हो । त्यस दिन हामीले नेपाली कम्युनिस्ट आन्दोलनको दुई धार बीच एकीककरण गरी विसाल नेकपा बनायौं । यो नेकपाको सात दशक लामो इतिहासमा महत्वपूर्ण घटना थियो । यस एकीकरण संगै एक हिसावले २०१९ साल पछि छिन्न भिन्न भएो नेकपा, २००६ सालको जस्तै सग्लो र गुणात्मक हिसाबले अतुलनीय बलियो पार्टी बनेको थियो । यस घटनासंगै नेकपा दक्षिण एशियामा सबैभन्दा ठूलो कम्युनिस्ट पाटी बनेको थियो ।

तर यस एकतापछि पार्टीको सांगठानिक जीवन सुदृढ हैन क्रमश: लथालिङ्ग हुन पुग्यो । दुई महिनाभित्र एकीकरणको काम सम्पन्न गर्ने र बर्षदिन भित्र एकता महाधिवेशन गर्ने लक्ष सहित विद्यमान कमिटीहरु भङ्ग गरियो । तर त्यो २ महिना, ३ बर्षसम्म पनि आएन । पार्टी जीवनमा ३ बर्षसम्मको शिथिलता ठट्टाको बिषय थिएन । तर भयो त्यस्तै– साढे चार सय जना रहेको भद्धा केन्द्रीय कमिटीले काम गर्नै सकेन । छरितो निर्णय गर्ने भनेर शीर्ष तहमा बनाइएको ९ सदस्यीय सचिवालय (कोर अफ दि लिडर्स) चरम अन्तरबिरोधमा फस्यो । त्यहाँ रहेको बहुमत संख्या नै मूल नेतृत्वका बिरुद्ध घेरावन्दी गर्ने र असफल पार्ने काममा उद्त हुन पुग्यो । पछि खडा गरिएका तदर्थ कमिटीहरुले काम गरेनन्, तिनिहरु परिचालन नै भएन । कमिटीले काम नगरे कै कारण मातहतसंग सम्बाद गर्ने च्यानल भाँचियो । पार्टी कमिटी र आम सदस्य, पार्टी संगठन र आम जनसमुदाय बीचको संवाद बिच्छेद हुन पुग्यो ।

यसले संगठनमा अराजकता सिर्जना गर्‍यो । राजनीति तथा विचारमा दक्षिणपन्थता र अवसरवाद हावी भयो । पार्टी कब्जा गर्ने मात्र हैन, हाम्रो आन्दोलनलाई नै बिघटन गर्ने निहित उद्देश्य बोकेकाहरुबाट पार्टीलाई विभाजन उन्मुख गराइयो ।

घाइते पार्टी धुलो टकटकाउँदै उठ्यो । संभव भएसम्म सबैलाई समेट्ने नीति अनुरुप ‘विचार’ र ‘क्षमता’ हैन ‘फकाउने र चित्त बुझाउने’ तरीकाबाट निराश कमरेडहरुलाई पलायन हुन नदिने प्रयास सुरु भयो । एउटा अपेक्षा गरिएको थियो– बिधान महाधिवेशनबाट कमिटी प्रणालीमा सिर्जना भएको भद्रगोल रोक्न बैधानिक व्यवस्था हुनेछ । र, दशौं राष्ट्रिय महाधिवेशनपछि पार्टी वैचारिक रुपले सुस्पष्ट र संगठनात्मक दृष्टिले चुस्त एवम सुदृढ हुनेछ।

बिधान महाधिवेशनमा हामीले समस्याको सहि पहिचान गर्‍यौं– विचारमा, ‘दक्षिणपन्थी अवसरवाद’ र संगठनमा ‘अराजकता’ । त्यसैले यसका बिरुद्धको लडाईमा विजय हासिल गरी जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने संकल्प गरियो । पारित राजनीतिक प्रतिवेदनमा हामीले ती समस्या समाधान गर्न ८ बुँदे कार्यभार तय गर्‍यौं :

१)      पार्टीलाई एकताबद्ध, सुदृढ र व्यापक जनआधारित बनाउने : यसको अर्थ हो, पार्टीलाई वैचारिक रुपले सुस्पष्ट, संगठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रुपले एकतावद्ध र जनतासंगको आवद्धता घनिष्ट बनाउने ।

२)      पार्टीमा शुद्धिकरण र पार्टीको सुदृढिकरण अभियान सञ्चालन गर्ने । यसको अर्थ हो, गुटबन्दी, भ्रष्टता र साँस्कृतिक विचलन बिरुद्ध अभियान सञ्चालन गर्ने । पुरानाको सदस्यता नबिकरण गर्ने र गुणस्तर बृद्धि गर्ने । नयाँ जनसमुदाय बीच पार्टी सदस्यता विस्तार गर्ने ।

३)      पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने । गएको चुनावमा हामीले हामीले मिसन वान–फिप्टी भन्यौं । परिणाममा हाम्रो पार्टी जनताको रोजाईमा ४४ जिल्लामा पहिलो, २४ जिल्लामा दोस्रो, ८ जिल्लामा तेस्रो र १ जिल्ला (सप्तरी) मा चौथो पार्टी बन्यो । निर्वाचनको समयमा हामीले ‘५–२ को नीति‘ (५ मतको रक्षा र २ मत बृद्धि) अपनायौं । र, प्रतिशितमा स्थानीय तहको लोकप्रीय मतमा ६ प्रतिशत बृद्धि गर्ने लक्ष्य राख्यौं ।

परिणाम: हाम्रो पार्टीले कोशी र बागमतीमा हामी नेकाँ भन्दा ५ प्रतिशत, गण्डकी र कर्णालीमा नेकाँ भन्दा २ प्रतिशत, लुम्बिनीमा नेकाँ भन्दा ४ प्रतिशत र सुदूरपश्चिममा नेकाँ भन्दा १ प्रतिशत बढी लोकप्रीय मत प्राप्त भयो । मधेस प्रदेशमा एमाले लोकप्रीय मतमा दोस्रो र प्रत्यक्षमा पहिलो भयो ।

४)      दक्षिणपन्थी अवसरवादी गठबन्धन र त्यसले सञ्चालन गरेको सरकारका गलत कामको बिरोध गर्ने ।

५)      राष्ट्रियताको सुदृढिकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिबृद्धि गर्ने ।

६)      लोकतन्त्रको सुदृढिकरण, संबिधानको रक्षा र विकास एवम राजनीतिक स्थायित्वको सम्बद्र्धन गर्ने । स्मरणीय छ, राजनतिक स्थिरताको लागि हामीले ‘दुई–शक्ति’को अबधारणा अघि सारेको छौं । पहिलो, एमाले– जसले देशभक्त, प्रगतिशील र अग्रगामी शक्तिहरुको केन्द्रको रुपमा मुलुकको नेतृत्व गर्नेछ । अर्को नेपाली काँग्रेस, जुन दक्षिणपन्थी, यथास्थितीवादी शक्तिको केन्द्र रहने छ ।

हामीले नेकाँसंग सहकार्यका लागि गरेको आग्रह र उसले देखाएको अनिच्छा इतिहास प्रमाणित छ । नेकाँबाट उपेक्षाका श्रृङ्खलालाई यसरी उल्लेख गर्न सकिन्छ:

  • ००८ सालमा कलिलो प्रजातन्त्र जोगाउन नेकपाले सहकार्यको प्रस्ताव राख्यो तर नेकाँका तत्कालिन सभापति मातृकाप्रसाद कोइरालले आफू प्रधानमन्त्री हुनासाथ पार्टी माथि नै प्रतिबन्ध लगाइ दिए । ०१३ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएपछि मात्र नेकपा माथिको प्रतिवन्ध हट्यो ।
  • ०१७ सालमा नेकाँको २ तिहाई बहुमतको सरकार अपदस्त गरी राजा महेन्द्रले कु गरे । प्रजातन्त्र बहालीको लागि नेकपाका संस्थापक महासचिव पुष्पलालले संयुक्त जनआन्दोलन र बिघटित संसदको पुन:स्थापनाको मागमा सहकार्यको प्रस्ताव राखे । अपदस्त प्रधानमन्त्री विपी कोइरालाले जेल बस्न र निर्वासनमा जान मञ्जुर गरे तर सहकार्यमा अनिच्छा देखाए ।
  • निर्वासनमा रहन नसक्ने भएपछि ०३३ सालमा विपी नेपाल फर्किए । फेरी सहकार्य र संयुक्त आन्दोलनको प्रस्ताव राखियो तर उनले कम्युनिस्ट बढेकोले राष्ट्रियता माथि नै खतरा रहेको भन्दै अस्वीकार गरे । राजाको घाँटी तल र मेरो घाँटी माथि भन्दै जोसंग संघर्ष गरिरहेको हो उसैसंग ‘राष्ट्रिय मेलमिलाप’को नीति अघि बढाए ।
  • ०३५/३६ को विद्यार्थी आन्दोलनलाई पञ्चायतको अन्त्यसम्म अघि बढाउन हामीले गरेको प्रस्ताव अस्वीकार मात्रै गरिएन, ‘जनमतमा संग्रह’ मार्फत जालझेल गरी जिताइएको पञ्चायतलाई प्रकारान्तरमा स्वीकारे । नेकाँका नेताहरु एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न पाएको भए ०४६ को आन्दोलनको पक्षमा पनि नहुन सक्थे ।
  • ०४६ को परिवर्तनपछि प्रजातन्त्र स्थीर भएको छैन शीर्ष नेताहरु बीच प्रतिस्पर्धा नगराऔं भन्ने प्रस्तावको उपेक्षा गरे
  • ०७२ मा संबिधान जारी गर्दा भएको सहमतिको उल्लंघन गरी एमाले अध्यक्ष बिरुद्ध प्रधानमन्त्रीमा उम्मेदवारी दिए । नाकाबन्दीको अन्त्य भएपछि सरकार गिराउने खेलमा संलग्न भए ।
  • यही ०७९ को निर्वाचन अघि दलहरुको सिण्डिकेट खडा गर्ने हैन स्वस्थ प्रतिस्पर्धा गरौं भन्ने हाम्रो सदासयताको उपेक्षा गरे, आम निर्वाचनपछिको सहकार्यको प्रस्तावमा अनिच्छा देखाए । आदि ।

७)      मौलिक साँस्कृतिक मूल्यहरुको सम्बद्र्धन र साँस्कृतिक रुपान्तरण

८)      आर्थिक विकास र समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाउने

यी अभियानका बाबजुद, पार्टीमा रहेको भद्रगोल अझै रह्यो । कारण– यस बिचमा “मिलाउन” गरिएका ‘प्रयास’ले हामीलाई संगठनात्मक अराजकताबाट उम्कन दिएन ।

उदाहरण हेरौं– प्याच अप गर्दै बनेका भद्दा कमिटी, पुरानालाई मायाको नाममा क्रियाशीलतामा संझौता, नयाँलाई मौका को नाममा विना स्कूलिङ कमिटीमा जिम्मा, एकता र ध्रुबीकरणको क्रममा फाइल बढुवाको बिधि, निर्वाचनमा ‘जित्नेलाई दिने’ भन्दै ‘पायक परेका जसलाई पनि, जहाँ पनि’को अवस्था सिर्जना हुन पुग्यो । यसले केही आधारभुत बिषयलाई नै डाइलुट गरी दियो । हामीले यी प्रश्नको उत्तर खोज्न पर्ने थियो: किन र के का लागि पार्टी? परिवर्तन के हो? प्राप्ति के हो? समाजलाई दिने के हो? अरुलाई नछानेर एमालेलाई नै किन खोज्नु, रोज्नु पर्ने? अर्थात् हाम्रा अजेण्डा के हुन्? हामी पुग्न खोजेको कहाँ हो? हाम्रो तरिका के हो?

यसमा अन्यौल कायमै रह्यो । स्थानीय निर्वाचन आयो । नसुध्रिएको बानी बोकेर हामी चुनावमा गयौं ।

हामी कहाँ छौं? हाम्रा कहाँ छन्? हाम्रा को हुन्? हाम्रा र राम्रा भनेर के भनेको? म नहुँदा के हुन्छ? उसले पाउँदा के बिग्रिन्छ?

––– यी मुद्धा छिनोफानो नगरी हामी मैदानमा गयौं ।

स्थानीय निर्वाचन ––– अवस्तुवादी मूल्याँकन वा भित्र एउटा बुझाई बाहिर अर्को बुझाईको मनस्थितीमा लडियो । आफ्नो पार्टी आफैंलाई लड्दा दु:खेन । अर्का’कोले आफूमाथि घोडा चड्दा ग्लानी भए जस्तो पनि देखिएन ।

आम निर्वाचन आयो ––– पुरानै मन बोकेर, केही तुष पालेर मैदानमा उत्रियौं । हामीले विचारबाट र बिषयबाट जित्छौं भन्ने कुरा ‘भन्नका लागि भनेको’ जस्तो गर्‍यौं कि? तिकडम र स्रोत परिचालन’लाई मात्र आधार ठान्यौं कि?

अहिले परिणाम हामीसंग छ । आउने दिन अझै चुनौतिपूर्ण छ । घेराबन्दी चौतर्फी छ ।

गएको निर्वाचनमा १३ प्रतिशत नयाँ मतदाता (१८–२२ बर्ष उमेर समुहका) थिए । एउटा सर्वेक्षणले भन्छ, त्यो समूहबाट एमालेले कम मत पायो, हाम्रो भन्दा आधार नै नभएका पार्टीले बढी पायो । किन? ४० बर्षमुनिका युवा मतदाता मध्ये हामीले कम अरुले अलिबढी मत पाए । किन? सोच्न परेन? हाम्रो बर्चश्व पाका उमेर समूहका मतदातामा मात्रै हो त? गएको चुनावमा अजेण्डा नै स्पष्ट नभएका नयाँ पार्टीहरुले नयाँ मतदातामा प्रभाव कसरी पारे? २०८४ मा  ४० मुनिका मतदाता १ करोड २४ लाख, २८ हजार जति पुग्ने छन् । ४० माथिका ८९ लाख ८० हजार जति मात्र हुनेछन् । सोचौं, यही ट्रेण्ड कायम रहे २०८४ मा हुने आम निर्वाचनमा हाम्रो कुल मत सन्तुलनमा के होला?

हाम्रा कमिटी प्रणाली दुरुस्त छन्? हामीले अपनाएको बिधि प्रकृया पालना भएका छन्? स्थानीय तहमा आपसी सम्बन्ध कस्तो छ? हामी बीचका असहमती कसरी हल हुने गरेका छन्? या जस्ता का तस्तै छन्? नयाँ र संभावना भएका मानिसहरु हाम्रो पार्टीमा कति आवद्ध छन्? आकर्षण कस्तो छ? छैन भने त्यसको लागि गर्नु पर्ने काम के होला? हामी वडादेखि राष्ट्रिय तहसम्म संबोधन गर्नु पर्ने मुद्धा के के हुन्?

यी सबैको ठीक ठीक पहिचान हुनु आवश्यक छ । त्यसैको लागि नेकपा एमालेको यो अभियान–मिसन ग्रासरुट अहिले सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *